Skip to main content

Sarbocha Khabar

Advertisement

वीरगञ्जको मेनरोड विस्तार प्रक्रिया अघि बढ्यो, मितेरी पुलदेखि गण्डकसम्म दुई खण्डमा ठेक्का आह्वान

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको त्रिभुवन राजपथलाई दुई खण्डमा विभाजन गरी ठेक्का आह्वान गरेको हो।
कार्यालयले २०८३ असोज ३० गते (अक्टोबर १६, २०२६) प्रकाशित गरेको सूचनाअनुसार पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्मको चार किलोमिटर र दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको ४.०५४ किलोमिटर सडक स्तरोन्नति गरिनेछ।
पहिलो खण्डका लागि ६ करोड रुपैयाँ र दोस्रो खण्डका लागि ५ करोड ५० लाख रुपैयाँ बोलपत्र जमानत तोकिएको छ। दुवै खण्डको बोलपत्र दस्तुर २० हजार रुपैयाँ निर्धारण गरिएको छ। सूचनामा सडक निर्माणको अनुमानित लागत भने खुलाइएको छैन।
इच्छुक तथा योग्य निर्माण व्यवसायीले २०८३ कात्तिक २० गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ भने बोलपत्रपूर्व बैठक कात्तिक ९ गते बिहान ११ बजे हुने सूचनामा उल्लेख छ।
लामो समयदेखि चर्चामा रहेको वीरगञ्जको मुख्य सडक विस्तारका लागि ठेक्का आह्वान भएसँगै सडक स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ। सडक स्तरोन्नति सम्पन्न भएपछि सवारी आवागमन सहज हुनुका साथै ट्राफिक व्यवस्थापन र सहरी यातायात प्रणालीमा सुधार आउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search