विद्यार्थीको शैक्षिक गुणस्तरदेखि अनुसन्धानसम्म, ठाकुरराम क्याम्पसमा विशेष कार्यक्रम
वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुसन्धानप्रति रुचि बढाउने उद्देश्यले ‘Students Academic Quality Enhancement Program’ आयोजना गरिएको छ।
नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अनुसन्धान प्रस्ताव लेखन, शोधपत्र तथा थेसिस लेखन, पावरपोइन्ट तथा पोस्टर प्रस्तुतीकरण र सन्दर्भ लेखनलगायतका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. उमेश चौरसियाले विद्यार्थीको शैक्षिक विकासका लागि अध्ययनसँगै अनुसन्धानमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। उनले विद्यार्थीले आफूले सिकेको ज्ञानलाई व्यवहारिक तथा अनुसन्धानात्मक कार्यमा प्रयोग गर्न सकेमा व्यक्तिगत क्षमता विकाससँगै समाज र देशको शैक्षिक क्षेत्रमा योगदान पुग्ने बताए।
त्यसैगरी उ.प्र डा. संजय चौरसियाले विद्यार्थीको शैक्षिक यात्रामा अनुसन्धान र निरन्तर सिकाइको महत्वपूर्ण भूमिका रहने बताए। उनले विद्यार्थीलाई नयाँ विषयमा खोज तथा अनुसन्धान गर्न, प्रश्न गर्ने बानीको विकास गर्न र आफ्नो ज्ञानलाई व्यवहारिक क्षेत्रमा प्रयोग गर्न प्रेरित गरे। अनुसन्धानमार्फत नयाँ ज्ञान सिर्जना गर्न सकिने भएकाले विद्यार्थीले अध्ययनलाई केवल परीक्षामुखी नभई सीप र ज्ञानमुखी बनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा डा. माधव गौतमले विद्यार्थीको शैक्षिक विकासमा अनुसन्धानको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए। उनले अनुसन्धान भनेको केवल शोधपत्र वा थेसिस लेखनमा सीमित विषय नभई नयाँ कुरा जान्ने, प्रश्न गर्ने र त्यसको तथ्यपरक उत्तर खोज्ने निरन्तर प्रक्रिया भएको बताए।
डा. गौतमले विद्यार्थीले आफ्नो अध्ययनका क्रममा आएका जिज्ञासालाई अनुसन्धानसँग जोड्दै प्रमाण र तथ्यका आधारमा निष्कर्ष निकाल्ने बानीको विकास गर्नुपर्ने धारणा व्यक्त गरे। उनले अनुसन्धानमा रुचि बढाउन यस्ता कार्यक्रमले विद्यार्थीलाई आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने बताए। साथै, विद्यार्थीले प्राप्त गरेको ज्ञानलाई व्यवहारिक क्षेत्रमा प्रयोग गर्दै समाजका वास्तविक समस्याको समाधान खोज्ने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रम नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशका अध्यक्ष तथा सहायक प्राध्यापक अमरदीप पण्डितको सह–आयोजना तथा ठाकुरराम बहुमुखी क्याम्पस रसायनशास्त्र विभागका विभागीय प्रमुख सहप्राध्यापक डा. प्रमोद कुमार यादवको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यार्थीहरूलाई रिसर्च प्रपोजल, पेपर तथा थेसिस लेखन, प्रस्तुतीकरण र सन्दर्भ सामग्री तयार गर्ने तरिकाबारे प्रेरणामूलक जानकारी प्रदान गरिएको थियो। सहभागी विद्यार्थीलाई अनुसन्धानसम्बन्धी आधारभूत ज्ञानसँगै आफ्नो अध्ययनलाई थप प्रभावकारी बनाउने विभिन्न पक्षबारे जानकारी दिइएको थियो।
‘Better Research, Brighter Future’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमले विद्यार्थीलाई अनुसन्धानमा सक्रिय बनाउन तथा उनीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।

