Skip to main content

Sarbocha Khabar

Advertisement

दसैँको नशालु प्रभाव र त्यसको अर्थशास्त्र

Advertisement

  • ईश्वरचन्द्र ज्ञवाली

यतिखेर दसैँ–पर्व नजिकिदैं गएको छ । पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । श्रम कार्यपछि मानवीय मनोरञ्जनको प्रवृत्ति, धार्मिक–आस्था, खुसी, मिलन भेटघाटका समारोह, आर्थिक प्रभाव, भोगी–विलासी मनोवृत्ति, सामाजिक परम्परा र चालचलन, ऋतूत्सव र प्राकृतिक सौन्दर्यको अवगाहन गर्ने मानव स्वभाव जस्ता मानवीय प्रवृत्तिबाट बनेका धारणाले पर्व–उत्सवहरू विकसित भएका हुन् । यसका पछाडि आध्यात्मिक र भौतिक दुवै परिवेशले काम गरेका छन् । एकातिर चाड, पर्व, मेला, उत्सवहरू कहीँ न कहीँ धार्मिक–आध्यात्मिक आस्थासँग जोडिएका छन् भने अर्कातिर भौतिक परिवेश र आवश्यकतासँग पनि जोडिएका छन् तर आजसम्मको तिनको विकास प्रक्रिया र चलनलाई हेर्ने हो भने आरम्भिक अवस्थामा श्रम उत्सव र पछि धार्मिक–आध्यात्मिक पक्ष नै मुख्य कारण रहेको देखिन्छ ।

धर्मको नाममा शोषणको प्रक्रिया चालु राख्ने उद्देश्यसँग जोडिएर, राज्यसत्ताको दीर्घ जीवनसँग जोडिएर, धनी, ठालु–सामन्तहरूले आर्थिक हैसियतको रबाफ वा प्रभुत्व प्रदर्शन गर्ने गतिविधिसँग जोडिएर, पण्डा–पुरोहितहरूले विना श्रम श्रमिक वर्गसँग परोक्ष्य शोषणको व्यवसाय गर्ने लक्ष्यसँग जोडिएर, श्रम चोर, कामचोर, ठग ठालु, शोषक, परजीवी वर्गको जीविका सञ्चालनको चालसँग जोडिएर चाडपर्वहरू, मेला उत्सवहरू चल्तीमा आएका देखिन्छन् । अर्कोतर्फ श्रमिक वर्गले खेतीपाती लाउने वा स्याहार्नेभन्दा पूर्व वा पछि रमाइलो गर्ने, कुनै लामो श्रमपछि मनोरञ्जन, आनन्द लिने, खानपिन–हाँसो खुसी गर्ने, आफन्तबिच सामूहिक मिलन–भेटघाट आयोजना गर्ने, आपसमा अनुभूति, सुखदुख साटासाट गर्न कुनै खास दिनलाई विशेष ढङ्गले मनाउने, सामूहिकता र सहकार्यलाई पर्व बनाउने मानवीय प्रवृत्तिबाट पनि यस्ता पर्वहरू विकसित भएका देखिन्छन् । यी सबै कुराको पछाडि भने आर्थिक व्यवस्था, उत्पादन गतिविधि, श्रम प्रक्रिया नै आधार रहेको पाइन्छ ।

कुनै पनि मानवीय सँस्कृति मान्छेका आर्थिक क्रियाकलाप र उत्पादन गतिविधिकै उपज हुन्छ । सामाजिक संरचना र सम्बन्धकै उपज हुन्छ । चाडपर्वहरू पनि मान्छेका तिनै गतिविधि र कार्यका परिणाम हुन् । यसर्थ चाडपर्व, मेला उत्सवहरू मानवीय यथार्थ, आर्थिक कार्य, वैचारिक रूपका प्रतिबिम्ब बाहेक अरू केही होइनन् । मान्छेका भौतिक गतिविधि नै पछि गएर आस्था, चिन्तन, दृष्टिकोण र धर्ममा परिवर्तन हुन्छन् । धर्मका पछाडि मान्छेको शक्ति र सामर्थ्यको सीमा, अज्ञानता र अ सचेतता, विचार–दृष्टिकोणको सीमा, भय र आतङ्क, प्राकृतिक रहस्यबारे जानकारी अभाव आदिको गहिरो भूमिका छ ।

प्रकृति, समाज विश्व–संरचनाबारे मान्छेका ज्ञानको सीमाकै कारण धर्मको आविष्कार भएको हो । धर्म यिनै मानव जातिका सीमाको उपज हो जसमा त्रासद र दुःखान्त अवस्थाले पनि काम गरेको छ । भय, पीडा, खुसी, आनन्द, स्वप्निल आकाङ्क्षाहरू जस्ता असीम चाहनामा मान्छेलाई आफ्नो शक्ति–सामर्थ्यको सीमा बोध भएपछि उसले अज्ञात कुनै परम शक्तिप्रति आफ्नो आस्थालाई जन्म दियो । धार्मिक चाडपर्व स्थापित हुनुमा यही अज्ञात रहस्यमयी आस्थाको पनि गहिरो भूमिका छ भन्दा फरक पर्दैन । दसैँ पर्व प्रचलनमा आउनका पछाडि पनि १) धार्मिक आस्था र आध्यात्मिक सोच, २) वर्षा याम भरिको श्रम कार्यपछि श्रमको थकान भुलाउन गरिने रमाइलो र फुर्सदिलो समयको उपयोग, ३) शरद् ऋतुको रमणीय प्रकृतिको प्रभावले मान्छेमा खुसीयाली मनाउने चाहना, ४) दूर दराज गएका आफन्तजन घर फर्किने, भेटघाट हुने, आत्मीयता साटासाट गर्ने मिलनको अवसर, फुर्सदलाई उपयोग गर्ने भौतिक परिस्थिति अन्तर्निहित रहेकोले अहिले सोही उद्देश्य पनि बन्न गएको छ । यी सबै आर्थिक गतिविधि, सामाजिक कार्य र उत्पादन प्रक्रिया नै हुन् । यहाँ दसैँ पर्वले मान्छेमा पारेको सामाजिक प्रभाव र त्यसबारे वामपन्थीहरूको धारणाबारे छोटो चर्चा गर्ने कोसिस गरिएको छ ।

मूलतः दसैँ धार्मिक मूल्य, मान्यता र परम्पराको पर्वका रूपमा विकसित भएको छ भने गौणतः खुसी, आनन्द, मिलन, स्वजनबिचको भेटघाट, खानपिन र रमाइलो गर्ने प्राकृतिक वातावरणको सौन्दर्यको प्रभावका रूपमा पनि विकसित भएको देखिन्छ । खेतीपाती गरेर थाकेको अवस्थामा फुर्सदलाई उपयोग गर्दै राम रमिता गर्ने दिनका रूपमा यसलाई मनाउने चलन हुन सक्ने कुरालाई नकार्न सकिदैंन, तर आज–भोलि दसैँ रूढिवादी विकृति, अन्धविश्वास र कुरूप परम्परा, धाार्मिकपन्थीहरूको अति वाद हुँदै सामन्ती आर्थिक हैसियत प्रदर्शनका माध्यमबाट विपन्नहरूमाथि प्रभाव लाद्ने मानसिकताका रूपमा विकसित हुन पुगेको पाइन्छ । जसले गरिब वर्गका जनसमुदायमाथि धार्मिक सामाजिक हीनताको भाव सिर्जना मात्र हैन तिनै ठालु–धनीको अनुकरण गर्दै आर्थिक ऋण–धन गरेरै भए पनि खुसीयाली किन्नु पर्ने बाध्यता पैदा गरेको छ ।

धनीहरूसँग आर्थिक प्रतिस्पर्धाको सामना नगरे अनि सो अनुसार दसैँको रमझम र तामझाममा सामेल नभए उनले मानसिक पीडा र हीनताबोधको सामना गर्नै पर्ने हुन्छ र सामाजिक रूपमा हेय र अपमानित हुने स्थितिका कारण, पैसा नभए पनि ऋण खोजेर खुसीयाली किन्नु पर्ने बाध्यता तल्लो वर्गमा लादिएको छ । दसैँ यस्तो वर्गका लागि दशा नै बन्छ । एक क्षण रमझम बोकेर आउने दसैँले जब वर्षभरिका लागि ऋण बोकाएर जान्छ, तब त्यो रक्सीको नशा जस्तो केही क्षण मातेको स्थितिमा बिर्सेका पीडाहरू नशा उत्रेपछि झन् दुई गुणा बढेर जाने जस्तै गरी दुख्न थाल्छ । दसैँका दिनसम्मको खुसी र आनन्द अर्को दिनदेखि पीडा, पिर र चिन्तामा बदलिनु दसैँको नशालु प्रभाव नै हो ।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search