बाराको फेटामा स्वास्थ्य चौकी उद्घाटन विवादले उग्ररूप लियो, गोली लागेर एक युवक गम्भीर घाइते
वीरगन्ज । बाराको फेटा गाउँपालिका–३ मा स्वास्थ्य चौकी उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्ररूप लिँदा गोली लागेर एक युवक घाइते भएका छन्। घाइते हुनेमा स्थानीय अजित पासवान रहेका छन्।
शनिबार बिहान स्वास्थ्य चौकी उद्घाटनको तयारी भइरहेका बेला विपक्षी समूहले कार्यक्रम रोक्न खोजेपछि विवाद सुरु भएको थियो। गाउँपालिका अध्यक्षसहितको टोली उद्घाटनका लागि पुगेपछि दुवै पक्षबीच तनाव बढ्दै झडपको अवस्था सिर्जना भएको हो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले जानकारी दिएका छन्।
डीआईजी अधिकारीका अनुसार भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको थियो। तर, घटनामा स्थानीय अजित पासवान गोली लागेर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ।
पासवानलाई लागेको गोली कसले चलाएको हो भन्ने विषयमा भने अझै यकिन हुन नसकेको डीआईजी अधिकारीले बताएका छन्।
फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी उद्घाटनका क्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै विवाद भएको थियो।
घटनापछि उक्त क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। विवादको वास्तविक कारण, घटनामा संलग्न पक्ष तथा गोली लागेर युवक घाइते भएको घटनाबारे थप विवरण आउन बाँकी छ।
